तनहुँ डढेलोको उच्च जोखिममा
तनहुँ | चैत २, २०७९
तनहुँ: तनहुँमा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । यसवर्ष वनमा आगलागीका घटना नभइसकेपनि सचेतना अपनाउन आवश्यक रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताए । “आगलागीको मौसम सुरु भइसकेको छ, जिल्लामा अहिलेसम्म आगलागीका घटना नभइसके पनि जोखिम रहेकाले सचेत हुनुपर्छ,” उनले भने । वन डढेलो हामी सबैको साझा चुनौती भएकाले सबै मिलेर यसको सामना गर्नुपर्नेमा उनको भनाइ छ ।
वन डढेलो लागेको देखेमा निभाउने कार्य गरी जिम्मेवारी नागरिकको भूमिका खेल्न वन कार्यालयले आग्रह गरेको छ । वन डढेलोले कम्तीमा दश प्रतिशत तापक्रम बढाउने बताइएको छ । वनमा डढेलो लगाउने कार्य गम्भीर अपराध मानी फौजदारी कसुरमा राखिएको छ । कार्यालयले जिल्लाका आठवटै सव डिभिजनलाई वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गर्न परिपत्र गरेको छ ।
सप्ताहव्यापी रुपमा वन कार्यालयको कार्यक्षेत्रमा रहेका सामुदायिक वन समूहसँग समन्वय गरी चेतनामूलक कार्यक्रम र सडक किनारमा रहेका सामुदायिक वनको पात पतिङ्गर सरसफाइ गरी नियन्त्रित आगो लगायतका अन्य वन डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालन गरिनेछ । डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । डढेलोको जोखिम कम गर्न कार्यालयले सचेतनामूलक कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाएको छ ।
वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताए । ‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतलाई आग्रह गरेका छौँ’ उनले भने, ‘सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।
वनजङ्गलमा डढेलो लगाउनेलाई कानुनी कारबाही हुने भएकाले त्यसबारेमा सर्वसाधारणलाई सचेत गराउन जरुरी रहेका कार्यालय काफ्लेले बताउनुभयो । वन ऐन २०७३ बमोजिम डढेलो लगाउनेलई तीन वर्षसम्म कैद र रु ६० हजारसम्म जरिवाना हुने व्यवस्था छ । जिल्लाको ८२ हजार पाँच सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश स्थानीय तहमा ६ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, ६ धार्मिक वन रहेका छन् ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

